दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता भएन: प्रचण्ड

निरन्तर न्यूज
२१ पुष २०८१, आईतवार २०:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता नभएको बताएका छन् ।

माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने,‘उपदेश दिएर रुपान्तरण हुँदैन, काम गर्नुपर्छ । दलाल, नोकरशाही वर्ग र हामीबीच भिन्नता भएन । हामी पनि बिग्रेका छौँ ।’ प्रचण्डले पहिले आफैँभित्रबाट रुपान्तरण भएर मात्र अरुलाई रुपान्तरण गर्न सकिने बताएका छन् ।

प्रचण्डले बैठकमा पेश गरेको प्रतिवेदनमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले १ फागुनभित्र सम्पत्ति विवरण र आफ्नो जीविकोपार्जनको विवरण बुझाउन प्रस्ताव गरेका छन् ।

उनको प्रस्तावमा ‘१ फागुनसम्ममा सबै केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले आफ्नो सम्पत्ति र जीविकोपार्जन के कसरी गरिरहेका छन्, सबै कुरा लिखित रूपमा पार्टी कार्यलयमा बुझाउनुपर्ने’ उल्लेख छ ।

बैठकमा सहभागी एक नेताका अनुसार विगतमा स्कुलिङ नमिल्ने पार्टीसँग पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम नआएको र पार्टी जीवन सहज नभएको निष्कर्ष निकाल्दै प्रचण्डले विप्लवसँगको एकतालाई प्राथमिकता दिएका छन् ।

‘अध्यक्षले विप्लवसँगको एकतालाई अलि बढी प्राथमिकता दिनुभएको छ र खासगरी स्कुलिङ र विचार मिल्ने पार्टी र समूहसँग एकता गर्न एक उच्च स्तरीय एकता संवाद समिति बनाउने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने ।

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई–मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव समेत राखेका छन् ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै विभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगाएतले रिर्पोटिङ गरेका थिए । उनीहरुको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रीत रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*