भाइरल बालक सचिनको मृत्यु
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बाल कलाकार सचिन परियारको निधन भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनको निधन भएको हो । १३ वर्षीय सचिनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ ।
स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार नभएको बताइएको छ ।
सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।
मिठो बोली र अनौठो हाउभाउले भाइरल सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका दृश्य सामाजिक सञ्जालमा देखिन्थे ।