एकसय सात वर्ष पुरानाे चुरियामाई सुरुङ हेटाैँडा उपमहानगरलाई हस्तान्तरण
हेटौँडा । मकवानपुर र बाराकाे सिमानामा रहेकाे १ सय ७ वर्ष पुरानाे दक्षिण एसियाकै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ आज साेमबारबाट हेटाैँडा उपमहानगरलाई हस्तन्तरण गरिदैछ ।
बागमती प्रदेश सरकारकाे लगानीमा जिर्णाेद्धार गरिएकाे सुरुङ ८ महिनापछि निर्माण सम्पन्न भएपश्चात् आज हस्तान्तरण गर्न लागिएकाे यातायात पुर्वाधार निर्देशनालय हेटाैँडाका इन्जिनियर प्रतिक्षा सिलवालले जानकारी दिइन् । ‘ हामी आफ्नाे काम सकेर हेटाैडा उपमहानगरलाई हस्तान्तरण गर्दैछाैँ बाँकी स्थानीय सरकारले कसरी चलउँछ त्याे वहाँहरुकाे कुरा हाे ‘ इन्जिनियर सिलवालले थपिन् ‘हाम्राे प्राविधिक सहयाेग रहिरहन्छ तर सन्चालन स्थानीय तहले गर्नेछ, त्यसकाे लागि कार्यविधि समेत बनिसकेकाे जानकारी पाएकाे छु ‘ ।
हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग उपमहानगरपालिकाले अवलोकनका लागि खुला गर्ने जनाएको छ ।
उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले करिब ३ कराेड ६४ लाख रुपैया खर्चेर जीर्णोद्धार कार्य गरेको निर्देशनालयले जनाएकाे छ ।
नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको इन्जिनियर सिलवाले बताइन् । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द रहेका छन् ।
एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।