रविको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा प्रहरीले डा निकोलस भुसाललाई पक्राउ गरेको छ ।
उनलाई आइतबार राति काठमाडौंकाे थलीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको तस्वीर यही पुष ३ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यो तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेका थिए ।
यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्ने भनेको थियो । त्यसपछि भुसाल पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भुसाललाई अनुसन्धानका लागि सोमबार पोखरा पठाउने प्रहरीको तयारी छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा जिल्ला अदालत, कास्कीमा मुद्दा दायर भएको छ । अब उनको सांसद पद पनि निलम्बनमा पर्ने प्रक्रिया अघि बढिसकेको छ ।