रास्वपा सभापति रबि लामिछानेको सांसद पद निलम्बन हुने

निरन्तर न्यूज
७ पुष २०८१, आईतवार २०:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था अनुसार लामिछानेको सांसद पद निलम्बन हुने भएको हो ।

अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने तयारी भइरहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताइन् ।

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वतः पद निलम्बनमा पर्छ । ऐनको दफा–२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,’ काफ्लेले भनिन् ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा स्वतः निलम्बन हुने प्रबन्ध रहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*