मकवानपुर मनहरी गाउँपालिकाको प्रशासनिक भवनको उपप्रधानमन्त्री सिंहबाट शिलान्यास
हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शनिवार शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले भवन निर्माण पश्चात जनतालाई सहज र सरज ढंगबाट सेवा दिन आग्रह गर्नुभयो । भवन निर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै उहाँले प्रशासनिक भवन निर्माण भएपछि यहाँका जनतालाई अझैं महसुस हुनेगरी सेवाप्रवाह गर्न जोड दिनुभयो ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानिया लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले स्वागत गर्नुभएको थियो ।
लामो समयदेखि भाडाको घरबाट सेवा दिँदैआएको मनहरी गाउँपालिकाको अब आफ्नै भवन निर्माण हुने भएको छ । पालिकाको प्रमुख प्रशासनिक भवनको तामाकोसी–ढाँचा निर्माण सेवा जेभी बालाजु –१६ काठमाडौँले निर्माणको ठेक्का पाएको छ । असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत ३० गते निर्माण सम्पन्न हुने उल्लेख छ ।
तीन तल्लाको निर्माण हुने भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपियाँ ३९ पैसा रहेको छ । ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभयो । भवन निर्माण भए पश्चात् पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक बचत समेत हुने उहाँको भनाइ छ ।