रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै, सहकारी पीडितले आन्दोलन गर्दै

निरन्तर न्यूज
४ कार्तिक २०८१, आईतवार ०९:३४

 

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक आन्दोलन सुरु गरेको छ । आन्दोलनअन्तर्गत रास्वपाले शनिबार पोखरा, काठमाडौँसहितका सहरमा विरोध प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेको थियो ।

आन्दोलन निरन्तर रहने सो पार्टीले जनाएको छ । प्रदर्शनमा देशभरबाट कार्यकर्ता पोखरा आएका थिए । केही स्थलमार्ग र केही हवाई मार्गबाट कार्यकर्ता पोखरा आएका थिए । विरोध प्रदर्शनका क्रममा पार्टीका जिल्लादेखि केन्द्रीय नेताले संवोधन गर्दै पार्टीको धारणा स्पष्ट पारेका थिए ।

यसैबीच पोखरामा सहकारी पीडितले पनि आन्दोलन चर्काउने भएका छन् । उनीहरुले आज बिहान ११ बजे पोखराको राष्ट्रबैँकचोकमा जम्मा भएर आन्दोलन गर्ने सहकारी पीडित संघर्ष समितिले जनाएको छ ।

लामिछाने पक्राउ परेसँगै आफूहरुले न्याय पाउने आशा जागेको सहकारी पीडितले जनाएका छन् ।

रास्वपाका कार्यकर्ता र सहकारी पीडितले आन्दोलन गर्ने जनाएपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*