बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिँहले आज दाबी पेश गर्दै
काठमाडौं । बागमती प्रदशेसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेसँगै एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा आइतबार नै स्वीकृत भइसकेको छ ।
नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले सोमबार बिहान बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्न लागिएको छ।
सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय तोकिएकोले लामाको नियुक्ती मंगलबार साँझ ५ बजेपछि मात्रै हुने बुझिएकाे छ ।
नयाँ सत्तासमीकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।
हाल १३ वटा मन्त्रालय रहेकाे बागमतीकाे नयाँ सरकारमा एमालेले ७ वटा मन्त्रालय मागेको भएतापनि भागबन्डाको विषय टुंगिन बाँकी रहेको एमालेका एकजनाले बताए ।
प्रदेशको पहिलो कार्यकालको पाँच वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा टिकेका जमकट्टेल समीकरण बदलिएसँगै साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएका छन् ।
मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् । १३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो ।