चितवन प्रशासनले सार्वजनिक गर्यो सिमलताल दुर्घटनाका यात्रुको विवरण (नामसहित)
काठमाडौं । गत शुक्रबार सिमलतालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसाल्दा हराएका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ ।
काठमाडौँबाट गौर जादै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका सार्वजनिक विवरणमा उल्लेख छ । यस्तै वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको उल्लेख छ । गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आज बेलुका सार्वजकि गरेको विवरणमा आफन्तले दाबी गरेका, बसको यात्रु चलानीमा उल्लेख भएका यात्रुका विवरण छन् । सार्वजनिक विवरण अनुसार १० जना भारतीय नागरिक भएको उल्लेख छ । यद्यपि केही विवरणमा अझै अन्यौल रहेको बताइएको छ ।
प्रहरीले भेटाएको मध्ये १४ जनाको शव मध्ये ७ जनाको पहिचान खुलेर आफन्तले जिम्मा लिइसकेका छन् भने बाँकी ७ जनाको पहिचान खुलेको छैन । दुईवटै बस र बाँकी ५१ जना यात्रुको अहिलेसम्म पत्ता लागेको छैन ।शुक्रबार भरतपुर २९ सिमलतालमा दुई वटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा पुर्याएपछि सोही दिनदेखि तालिमप्राप्त गोताखोरसहितको टोलीले लगातार खोजी गरेका छन् ।
खोजीमा सहयोग हुने प्रविधिसहित खोजी कार्य जारी भएपनि लेदोसहितको धमिलो पानी र उच्च बहाबका कारण खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न उद्दारकर्मीहरुले बताएका छन् ।