अमेरिकाको न्यू इंग्ल्याण्डका मूलवासी नेपालीहरु तीज मनाउने तयारीमा जुटे

निरन्तर न्यूज
१८ भाद्र २०८०, सोमबार १६:०६

नेपाली हिन्दू धर्मावलम्बीहरुको विशेष चाड हरितालिका तीज नजिकिदै गर्दा नेपालीहरुमा खुशी र उमङ्गको रहर छाउन थालेको छ। यस वर्षको ‘हरितालिका तीज’ असोज १ गते तदनुसार सेप्टेम्बर १८ तारिख, भाद्र शुक्ल तृतियाका दिन परेको छ। तीजको रहर आएसंगै अमेरिकाको न्यू इंग्ल्याण्डका मूलवासी नेपालीहरु पनि तयारीमा जुटिसकेका छन्। व्यस्त दैनिकीमा पनि वर्षमा एक पटक आउने यस चाडलाई धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा सांगीतिक रुपमा हर्षोल्लासका साथ मनाउने गरी तयारीमा जुटेका हुन्। तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, पारिवारिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै तीजलाई हर्षोल्लासका साथ मनाउने गरी तयारी भइरहेको छ।

यस अवसरमा ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले यही आउदो सेप्टेम्बर १६ तारिख सनिवारका दिन क्याम्ब्रिज सहरको 400 Cardinal Medeiros Avenue,Cambridge मा तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२३’ गर्ने तयारी गरिरहेको छ। कार्क्रममा ‘दर’ खाने व्यवस्था गरिनुका साथै तीज केन्द्रित विशेष सांगीतिक कार्यक्रम गर्ने तयारी गरिदै छ। जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाले ‘हरितालिका तीज-२०२३’ लाई चाडको मूल मर्ममा केन्द्रिकृत गरेर मनोरञ्जनात्मक तथा उल्लासमय तरिकाले मनाउन आवश्यक तयारी भइरहेको जानकारी दिएकी छिन्। कार्यक्रम भड्किलो नभइ सभ्य र मनोरञ्जनात्मक हुने दावी गर्दै अध्यक्ष थापाले भनिन् ‘हरितालिका तीजको मूल मर्ममा केन्द्रित भएर ‘हरितालिका तीज-२०२३’ भव्यताका साथ मनाउन हामी आवश्यक तयारीमा जुटिरहेका छौं। कार्यक्रम भड्किलो नभइ ,सभ्य र मनोरञ्जनात्मक हुने छ।’ अध्यक्ष थापाका अनुसार सांगीतिक माहोलका बिच मनाउन लागिएको कार्यक्रममा नेपाली पहिचान र स्वादका मिष्ठान्न परिकारहरुसहितको ‘दर खाने कार्यक्रम’ पनि रहेको छ।अध्यक्ष थापाले हरितालिका तीजको शुभकामना दिदै कार्यक्रममा सहभागिताका लागि सबै नेपाली समुदायलाई निम्तो दिएकी छिन्। कार्यक्रममा सहभागिता जनाउनेहरुका लागि आयोजकले सहयोग शुल्क वापत प्रति टिकट ३० डलर तोकेको छ। तर, १० वर्ष मुनिका बालबालिकाहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

यसैगरी, बोस्टन स्थित नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टन (Nepali Women’s Global Network(NWGN),New England Chapter, Boston) ले पनि ‘तीज विशेष कार्यक्रम’को आयोजना गर्ने भएको छ। न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिए अनुसार संस्थाले यही अगस्ट १० तारिख आइतवारका दिन 191 Highland Avenue, Somerville मा कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्ति ३० डलर सहयोग शुल्क तोकिएको छ। कार्यक्रममा नेपालीपन र स्वादका विभिन्न स्वादिष्ट खानेकुराहरुसहितको ‘दर खाने’ र तीज विशेष सांगीतिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले कार्यक्रममा सहभागी हुन सबैलाई निम्तोसमेत दिएकी छिन्।

यसै बिच, नरउड(Norwood) स्थित सृजनशील महिला समूह (Creative Woman Group of New England)ले पनि ‘हरितालिका तीज-२०२३’ को आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम आउदो अगष्ट ९ तारिख सनिवार साँझ 572 Nichols Street,Norwood मा हुने गरी तयारी गरिदै छ। समूहकी अध्यक्ष सानु अधिकारीले विगत ६ वर्षदेखि निरन्तर आयोजना गरिदै आएको तीज लक्षित कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको बताएकी छिन्। स्थानीय नोरउड(Norwood)वासी नेपाली दिदीबहिनीहरु मिलेर गर्न लागिएको यस कार्यक्रममा, दर खाने व्यवस्था गरिनुका साथै मनोरञ्जनका लागि तीज केन्द्रित सांगीगिक कार्यक्रमको पनि व्यवस्था गरिएको जनाइएको छ। समूहकी अध्यक्ष अधिकारीले महिला दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन निमन्त्रणा गरेकी छिन्। आयोजकका अनुसार कार्यक्रममा सहभागिताका लागि सहयोग शुल्क वापत प्रति व्यक्ति ३० डलर तिर्नु पर्ने छ भने, १० वर्ष मुनीका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासमा यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*