अमेरिकाको बोस्टनमा ‘हिमालयन हाइवे’को सांगीतिक कार्यक्रम सम्पन्न

निरन्तर न्यूज
१४ भाद्र २०८०, बिहीबार १७:२९

अमेरिकाको बोस्टनमा रहेका नेपाली र अमेरिकन संगीत कर्मीहरु मिलेर जन्माएको ‘हिमालयन हाइवे’ले आयोजना गरेको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अगष्ट २८ तारिख सोमवार साँझ विश्व विख्यात शैक्षिक संस्था हार्भर्ड युनिभरसिटी( Harvard University)को आडैका रहेको
चर्चित थलो क्लब प्यासिम(Club Passim)मा सम्पन्न भएको हो।

नेपाली र अमेरिकन लोक गीत तथा संगीत संरक्षण, संवर्धन र प्रवर्धनका लागि जुटेको ‘हिमालयन हाइवे’ले कार्यक्रमलाई नेपाल र नेपालीको पहिचान र परिचयमा केन्द्रिकृत गरेको थियो। नेपाली र अमेरिकन गीत तथा संगीतलाई जोडेर समयानुकुल परिस्कृत रुपमा पृथक सांगीतिक कोसेलीहरु पस्किन सक्नु नै कार्यक्रमको विशेषता रहेको थियो। नेपाल र नेपालीको गौरवपूर्ण सांगीतिक कार्यक्रमको मुख्य आकर्षण नेपाली लोक गीतहरु तथा मौलिक बाजा ‘सारङ्गी’ रहेको थियो।
आकर्षक पृथक शैलीमा सारङ्गी बजाउदै कर्णप्रीय धुनहरुको सृजना गरी संगीत प्रेमी अमेरिकन सहभागीहरुलाई मन्त्रमुग्ध बनाउने भूमिकाको निर्वाह, ख्यातिप्राप्त कलाकार श्याम नेपालीले गरेका थिए। उनी लामो समयदेखि आफ्ना पिता पुर्खाहरुको बिडो थाम्दै नेपाली गीत, संगीत र नेपाली मौलिक बाजा सारङ्गीको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै विश्वमा चिनाउने अभियानमा जुटिरहेका छन्। उनलाई ख्यातिप्राप्त तबला वादक प्रमोद उपाध्याय, अमेरिकन लोक गीत तथा संगीतको क्षेत्रमा उदयमान व्यक्तित्वहरु द्वय मान्डोलिन(Mandolin) वादक जोइ लेभिट(Zoe Levitt) र गितार वादक एलेक्स फर्मेन्टो(Alex Farmento)ले साथ दिएका थिए।

सारङ्गी वादक श्याम नेपालीले कार्यक्रममा आफ्नो मातृभूमि नेपाल, नेपाली, सारङ्गी, नेपाली गीत तथा संगीत आदिका बारेमा संक्षिप्त परिचय दिदै आफ्ना सांगीतिक कोशेलीहरु पस्किएका थिए। कार्यक्रममा उनले पानी है पर्यो…, सानी सानी …ए झिल्के नानी…, बाँझो खेतमा…, रेशम फिरिरि…, सिरिमा सिरि नि कान्छा बतासै चल्यो…, गाइ त बाँध्यो ढुङ्ग्रोमा मोइ छैन ……लगायत नेपाली लोक गीतहरु गाएर र सारङ्गीमा बजाएर सुनाएका थिए। सारङ्गी, तबला, मान्डोलिन र गितारबाट सिर्जिएको पृथक सांगीतिक धुनहरुले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनुका साथै भरपूर मनोरञ्जन दिलाउन सफल भएको थियो। दर्शकहरुले हरेक प्रस्तुतिका लागि कदर स्वरुप लामो समयसम्म गडगडाहट ताली बजाएर कलाकारहरुलाई उर्जा दिदै उत्प्रेरित गरेका थिए।

कार्यक्रमको दौरानमा सारङ्गी वादक नेपालीले ‘सारङ्गी’ नेपालको मौलिक बाजा भएको बताउदै सारङ्गीको बारेमा संक्षिप्त जानकारी समेत दिएका थिए। आफ्ना प्रस्तुतिहरु पस्कने क्रममा उनले गीत तथा संगीतको कुनै सिमाना नहुने र विश्वलाई जोड्ने एक महत्वपूर्ण माध्यम गीत तथा संगीत नै भएको बताउदै ‘हिमालयन हाइवे’ले गीत तथा संगीतको माध्यमबाट नेपाली र अमेरिकनहरुलाई एक-आपसमा जोड्ने प्रयास गरिरहेको बताए। उनले नेपाल र नेपालीको सुन्दर पक्षहरुको बारेमा जानकारी गराउदै सहभागीहरुलाई नेपाल घुम्नका लागि निम्तो समेत गरेका थिए।

कार्यक्रममा ख्यातिप्राप्त तबला वादक प्रमोद उपाध्यायले फिटेको तबला हेरेर दर्शकहरु दंग पर्दै धुनहरु सुनेर आनन्दित भएका थिए। सारङ्गी, मान्डोलिन र गितारबाट सृजित सुमधुर धुनहरुलाई थप कसी लगाउदै सुनमा सुगन्ध थप्ने भूमिका निर्वाह गर्नमा उपाध्यायले कुनै कसर बाँकी राखेनन्।

यसैगरी, हिमालयन हाइवेमा आबध्द मान्डोलिन(Mandolin) वादक जोइ लेभिट(Zoe Levitt)ले श्याम नेपालीलाई नेपाली गीत गाएर र मान्डोलिन(Mandolin) बजाएर साथ दिएकी थिइन्। अमेरिकन संगीतिक क्षेत्रमा उदाउदै गरेकी उनले मान्डोलिन(Mandolin) बजाउदै अमेरिकन लोक गीत गाएर कार्यक्रमलाई थप रौनकता दिएकी थिइन्। कर्णप्रीय स्वर र खारिएको वाद्यवादन बजाउने सीपले भरिपूर्ण रहेकी लेभिटको प्रस्तुतिलाई दर्शकहरुले निकै प्रशंसा गरेका थिए। कार्यक्रम सञ्चालको जिम्मेवारी समेत निभाएकी उनले नेपाली लोक गीत तथा संगीतले आफूलाई निकै आकर्षित गरेको र नेपालमै पुगेर सिक्दै काम पनि गर्दै गरेको जानकारी दिइन्। आफ्नो प्रस्तुतिका क्रममा उनले श्याम नेपालीका छोरा प्रिन्स नेपाली आबध्द रहेको नेपालको मानस्लु व्लु(Manaslu Blue)संग मिलेर काम गरिरहेको र एल्बम रेकर्डिङको काम भैरहेको बताइन्। उक्त टिमले अमेरिकामा पनि निकट भविश्यमै सांगीतक यात्रा गर्नका लागि योजना बनाइरहेको लेभिटले जानकारी दिइन्। यसै अवसरमा उनले मानस्लु व्लु(Manaslu Blue) मा समावेश हुने सांगीतिक कोसेलीलाई पनि दर्शक माझ प्रस्तुत गरेकी थिइन्। उनलाई प्रिन्स नेपालीका पिता श्याम नेपालीले साङ्गी, प्रमोद उपाध्यायले तबला र एलेक्स फर्मेन्टोले गितार बजाएर साथ दिएका थिए। प्रशंसाको वाह वाही पाएकी लेभिटलाई दर्शकहरुले सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका थिए। कार्यक्रममा गितार वादक अलेक्स फर्मेन्टो(Alex Farmento)ले पनि आफूसंग भएको गितार बजाउने सीपलाई भरपूर उपयोग गर्दै अमेरिकन लोक गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए। कार्यक्रम समापन भैसक्दा पनि थप गीत संगीत सुन्न पाए हुने थियो झैं गरेका सहभागीहरुले, कार्यक्रमको मुक्तकण्ठले प्रसंशा गर्दै थप सफलताका लागि शुभकामना दिएका थिए।

कार्यक्रमको अन्तमा ‘हिमालयन हाइवे’ परिवारले अमूल्य साथ, सहयोग र उत्प्रेरणा दिने दर्शकहरुलाई विशेष धन्यवाद दिदै भावी दिनहरुमा पनि यस्तै सांगीतिक कार्यक्रमहरु लिएर आउने योजना रहेको जानकारी गराएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*