संखुवासभा कारागारमा भएको कैदी हत्यामा प्रहरीकै संलग्नता
संखुवासभा । सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले यस्तो जानकारी दिएका हुन् ।
साउन २४ गते बिहान भएको घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोलीले ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको पाएको हो । कुटपिटमा कारागार सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए ।
पाण्डेका अनुसार अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले भोलि शुक्रवार घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको छ । घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ ।
मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो । चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ ।घिमिरे पक्राउ परेका छैनन ।
घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ छन । घटना लगत्तै अनुसन्धानका लागि टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो ।
घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि सङ्खुवासभा आएको थियो । पच्चिस जना अट्ने कारागारमा अहिले १ सय ३६ कैदीबन्दी राखिएको छ । -रासस