शरणार्थी प्रकरणः १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो, रायमाझी र खाणको पेशीमै चढेन
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।
यस प्रकरणमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धाराको थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, आङटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको हो।
न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा उनीहरूकाे पुनरावेदनमाथि सुनुवाइ भएको हो।
पूर्वगृहमन्त्री वालकृष्ण खाँण, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको निवेदन भने पेशीमा चढेन। उच्च अदालतले काठमाडौं जिल्ला अदालतसँग मागेको कैफियत प्रतिवेदन आइनपुगेका कारण उनीहरूको मुद्दा पेसी नचढेको हो।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध उनीहरु उच्च अदालत गएका हुन्। उच्चले जिल्लाको आदेश सदर गर्ने वा त्यसलाई बदर गरी साधारण तारेख वा धरौटीमा छाड्ने बारेमा निर्णय दिन सक्नेछ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।