अख्तियारद्वारा वन समूहका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माई नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर बराईलीसमेत ८ जनामाथि गैरकानुनी लाभ लिएको आरोपमा मुद्दा दायर गरेको जनाएका छन् ।
उनीहरुले आफू अनुकुल कागजात तयार पारेर कार्यक्रममै नभएको पुल निर्माण गराएको भनि रकम लिएको, आफू अनुकुल नक्कली कागजात बनाएर स्टेशनरी सामग्री, बोटबिरुवा खरिद तथा बैठक भत्ता बुझेको, गरिबी निवारणका लागि विनियोजित रकम ऐलानी जग्गामा खर्च गरेर अनियमितता गरेको जस्ता अभियोग अख्तियारले लगाएको छ ।
अनियमिततामा संलग्न अध्यक्ष बराइली, सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा, तत्कालिन सचिव रामबहादुर मगर, कोषाध्यक्षद्धय चन्द्रकला श्रेष्ठ र रामकुमारी खत्री, वन उपभोक्ता भनेर चिनाउने गौडा हिले खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र कोषाध्यक्ष रस्मिला बराइली तथा लेखा परीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरुमध्ये कसुर बमोजिम कैद सजाय, १५ लाखसम्म बिगो र जरिवाना असुल उपर गर्न मागदाबी गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।