प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमनत्रीको भारत भ्रमणमा भएको छलफल र सहमति कार्यान्वययनको फलो अपका रुपमा कुराकानी भएको आचार्यले बताए ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले दुवै देशका सरकार प्रमुखबीचमा सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाएको छ । गत जेठमा प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमति भएको थियो ।
टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको पनि भारतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।