हेटौंडामा चोरीको सुन खरिद गर्ने पूर्ण शाक्य एण्ड सन्सबाट प्रतीक पक्राउ
हेटौंडा । चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको हो ।
चोरीको सुन खरिद गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहको पूर्ण शाक्य एण्ड सन्सबाट एकजना पक्राउ गरेको जनाएको छ । चोरीको सुन, चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो । उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद गरेको प्रहरीले जनाएको छ ।
कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेका थिए । चोरी गरेको गहना पूर्ण शाक्यमा ल्याएर उनले विक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ । दिनेशले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट विक्री गरेको देखिएको छ । उनले शाक्यले विल विनाकै गहना खरिद गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा गरेको छ ।