आयोगकाे साढे २४ करोडकाे प्रिन्टिङ मेसिन खरिद प्रकरणबारे अनुसन्धान गर्दै अख्तियार
काठमाडाैं । साढे २४ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकेदारबाट छपाई गर्दै आएको निर्वाचन आयोगका पदाधिकारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेकाे छ।
निर्वाचन सामाग्री खरिदको नाममा २४ करोड ५३ लाखमा खरिद गरिएको प्रिन्टिङ छपाई मेसिनबारे परेको उजुरीबारे छानबिन थालेको आयोगले तत्कालीन प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीहरूमाथि छानबिन थालेको हो ।
छोटो समयमै छपाई गर्नु पर्ने भन्दै खरिद गरिएको मेसिनबाट सामाग्री छपाई नै नगरी ‘ठेकेदार’मार्फत छपाई गरिनुले कमिसनकै लागि खरिद गरिएको आशंका गरिएको छ।
महालेखालेसमेत यसबारे प्रश्न उठाएको थियो । महालेखाको ५८औँ प्रतिवेदनमा २०७५ चैत्र १५ मा हुने उप निर्वाचनमा मतपत्रलगायत अन्य छपाई कार्य गरिने जवाफ निर्वाचन आयोगको दिएको भए पनि २०७६ मासमेत मेसिन प्रयोग नभएको उल्लेख गरिएको थियो । उच्च मूल्यको मेसिन खरिद गरी प्रयोगविहीन रहेको उचित नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख भए पनि सम्बन्धित निकाय तै चुप मै चुपको अवस्थामा रहेका थिए ।
खरिद प्रकरणहरूमा चर्चित ओम्नी ग्रुपबाट तत्कालीन प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित केही आयुक्तहरूले खरिद गरेको मेसिन किनेको ६ वर्ष भई सकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बाँकी हुँदा निर्वाचन आयोगले १९ असोज २०७४ मा प्रिन्टर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ अनुसार सोझै बजारबाट खरिद गर्न सक्ने व्यवस्था देखाउँदै खरिद गरिएको मेसिन ‘अति आवश्यक’ भन्दै किनिएको थियो । तर ६ वर्षसम्म पनि त्यसको आवश्यकता पुष्टि हुन सकेकाे छैन्।