नापी अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा, एक करोड भन्दा बढी ‘गैरकानूनी आर्जन’

निरन्तर न्यूज
१४ श्रावण २०८०, आईतवार २१:२३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिए पनि वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ ६९ पैसा मात्र रहेको अख्तियारले जनाएको छ । उनको १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारको ठहर छ ।

‘‘..निज राजु पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिंदा निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा(१) बमोजिमको कसुर गरेको’अख्तियारले जनाएको छ ।

अख्तियारले उनले गैरकानुनी आर्जन गरेको १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा असुल गर्न माग गरेको छ । अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*