घुस लिएको आरोप लागेका निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त
काठमाडौं । गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन् ।
केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्र मन्त्रालयबाट प्राप्त भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।
केसी इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा निलम्बनमा परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।