भ्रष्टाचारको आरोप लागेपछि खोटाङका प्रजिअ निलम्बित
काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्।
तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा रेका हुन्। खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका थिए।
खतिवडाले तत्कालीन सिद्धिचरण नगरपालिकामा कार्यरत रहँदा उक्त नगरपालिकाको वडा नम्बर १ मा विद्युतीकरणका लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।
खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए।
आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको जनाएको छ।