एनआरएनए, अमेरिकाका मेरुदण्ड आजीवन सदस्यहरु नै मताधिकारबाट बन्चित

सुपेन्द्र बस्नेत
५ श्रावण २०८०, शुक्रबार २२:१२

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका मेरुदण्ड आजीवन सदस्यहरु मताधिकारबाट बन्चित हुने भएका छन्। संस्थामा आवद्ध रहेका दुइ तिहाइ आजीवन सदस्यहरुको विवरण निर्वाचन समितिले अझैसम्म पनि प्रमाणीकरण नगरिदिएका कारण उनिहरु मताधिकारबाट बन्चित हुने भएका हुन्। निर्वाचन समितिले तय गरेको निर्वाचन कर्यतालिका अनुसार यही जुलाई २२ र २३ तारिख (सनिवार र आइतवार) का दिन निर्वाचन हुन गइरहेको छ। यस सन्दर्भमा भने आजीवन सदस्यहरुलाई मताधिकार दिइनु पर्दछ भन्दै चौतर्फी आवाज उठिरहेको छ। संस्थाले ‘ स्मार्ट एनआरएनए’ नारा दिदै यस पटकदेखि एमआइएस प्रणाली लागू गरेर फेशियल भेरिफिकेशन प्रणाली मार्फत सदस्यता वितरण गरेको थियो। नयाँ र पुराना सदस्यहरुलाई नयाँ प्रणालीमा समेटिएको भएतापनि, आजीवन सदस्यहरुलाई प्रारम्भमा प्राविधिक कारण देखाउदै नयाँ प्रणालीमार्फत आफ्नो विवरण पेश गर्न रोकिएको थियो। पछि विवरण पेश गर्नका लागि सूचना गरिए बमोजिम आजीवन सदस्यहरुले आफ्नो विवरण पेश गरेको भएतापनि, निर्वाचन समितिले प्रमाणीकरण नगरेर मतदानको अधिकारबाट बन्चित गराउन खोजेको आजीवन सदस्यहरुको आरोप छ। यस सम्बन्धमा आजीवन सदस्य तथा पूर्व सल्लाहकार दीनबन्धु भट्टले अधिकांश आजीवन सदस्यहरुलाई निर्वाचनमा भाग लिनबाट बन्चित हुने अवस्था सृजना हुनु अत्यन्त दु:खद र निन्दनीय कार्य भएको प्रतिक्रिया दिएका छन्। संस्थाको अत्यन्त महत्वपूर्ण हिस्सालाई नै निर्वाचन प्रक्रियाबाट बाहिर राखेर गरिएको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने प्रतिक्रिया दिदै भट्टले भने,’विभिन्न बहानामा आजीवन सदस्यहरुलाई मतदान गर्नबाट बन्चित गर्नु साह्रै दु:खद र निन्दनीय कार्य हो। यसरी गरिएको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनै सक्दैन।’ यस घटनाले निर्वाचन समितिको नियतमा खोट रहेको आशंका जन्माएको बताउदै उनले सम्पूर्ण आजीवन सदस्यहरुलाई मतदान गर्ने व्यवस्था गर्न जोडदार माग गरेका छन्। संस्थाले माग गरे अनुसार नै आफूले सम्पूर्ण प्रक्रियाहरु पुरा गर्दा पनि मताधिकारबाट बन्चित गरिएको भट्टको आरोप छ। आजीव सदस्यहरुलाई मताधिकारबाट बन्चित गरिएमा, त्यसले निकै ठूलो जटिलता निम्त्याउने उनले चेतावनी दिएका छन्।

यस सम्बन्धमा एनसिसि, अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडेले आजीवन सदस्यहरुलाई मतदान प्रक्रियामा समेट्नु पर्नेमा जोड दिए। आजीव सदस्यहरु भनेको संस्थाको गरिमा बढाउने व्यक्तित्व र संस्था बचाउने मेरुदण्ड भएको जिकीर गर्दै उनले भने, ‘ आजीवन सदस्यहरुलाई ससम्मान निर्वाचनमा भाग लिन पाउने वातावरण तयार गर्नु जरुरी छ।’
निर्वाचन समितिले यस विषयलाई गम्भीरताका साथ लिएर आजीवन सदस्यहरुलाई मतदान गर्न पाउने वातावरण तयार गर्नेमा डाक्टर बन्जाडेले आशा व्यक्त गरे।

आजीवन सदस्यहरुले मतदान गर्न पाउनु पर्दछ भन्नेमा एनआरएनए, एनसिसि, अमेरिकाका वर्तमान उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी डिलुराम पराजुली पनि सहमत छन्। उनले पनि आजीवन सदस्यहरुलाई पन्छाएर निर्वाचन गर्ने कुरा आफूले कहिले पनि कल्पना समेत नगरेको प्रतिक्रिया दिए। यस विषयमा आफ्नो दृष्टिकोण प्रस्ट्याउदै उनले भने, ‘मैले त सधै स्वच्छ, स्वतन्त्र, पारदर्शी र निष्पक्ष निर्वाचनको पक्षमा वकालत गर्दै आइरहेको छु। यस विषयमा पनि आजीवन सदस्यहरुलाई निर्वाचनमा भाग लिन दिइनु पर्दछ भन्ने पक्षमा मखछु।’

आजीवन सदस्यहरुलाई नै मतदान गर्ने अधिकारबाट बन्चित गरिएमा विश्वभर नकारात्मक सन्देश जाने र संस्था थप संकटमा पर्ने भन्दै पराजुलीले चिन्ता व्यक्त गरेका छन्।

एनआरएनए, अमेरिकाको निर्वाचन समितिले यस सम्बन्धनमा स्पष्ट आधिकारिक धारण सार्वजनिक गरिसकेको छैन। तर, श्रोतले जनाए अुसार अब निर्वाचन समिति दुइतिहाइ आजीवन सदस्य बिना नै निर्वाचन गर्न तिर अघि बढिरहेको छ। यस घटनाले हुदै गरेको निर्वाचन स्वच्छ, सुरक्षित र धाँधलीरहित हुन्छ भन्नेमा आशंका जन्माइरहेको छ। श्रोतले जनाए अनुसार संस्थामा चौबिस सय बढि आजीवन सदस्यहरु रहेकोमा एमआइएस प्रणालीमा ८ सय जतिको मात्र विवरण प्रमाणीकरण गरिएको र झण्डै दुइ तिहाइ आजीवन सदस्यहरुको विवरण प्रमाणीकरण गरिएको छैन। यसरी दुइ तिहाइ आजीवन सदस्यहरुलाई नै बेवास्ता गरेर निर्वाचन गरिएमा, त्यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, पारदर्शीता र निश्पक्षतामा ठूलो प्रश्न चिन्ह खडा हुने, भावी दिनमा संस्थाको गरिमाको कध घटाउने र कानूनी जटिलता सृजना हुने प्रवल सम्भावना देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*