कांग्रेस जसपा हुँदै एमाले प्रवेश गरेका पूर्वकृषि मन्त्री पक्राउ
काठमाडौं । कांग्रेस जसपा हुँदै एमाले प्रवेश गरेका लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।
बाँके प्रहरीले बैंकिङ कसूर मुद्दामा यादवलाई पक्राउ गरेको हो । पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले पुष्टि गरेको छ । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
पार्टीको निर्देशनविपरीत पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।