कोषाध्यक्ष पदका प्रत्याशी द्वय शर्मा र उप्रेति बिचको एकताले प्रतिस्पर्धीलाई धक्का
एकता नै विजयका लागि मूख्य आधार र बल हो भन्ने तथ्यलाई आत्मसाथ गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद(एनसिसि), अमेरिकाको आशन्न निर्वाचनमा कोषाध्यक्ष पदका प्रत्याशी द्वय रबिन्द्र उप्रेति र अमित शर्मा बिच कार्यगत एकता भएको छ। यस कार्यको मुख्य सुत्रधार एनसिसिको अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडे र सुमन थापा हुन्। यि दुइ बिच चुनावी तालमेल भएपछि अरुलाई पनि एकताबद्ध हुन दबाब परेको हो। थापा र बन्जाडेले एक-आपसमा सहमति र सहकार्यसहितको एकताको कसिलो अंङ्कमाल गरेपछि, कोषाध्यक्ष पदका उमेदवार द्वय शर्मा र उप्रेतिलाई पनि एकता गर्न बाध्य पारेको हो। डाक्टर अर्जुन बन्जाडे नेतृत्वको ‘परिवर्तन’ पक्षधरहरु र थापा नेतृत्वको ‘रुपान्तरण’ पक्षधरहरु बिच भएको सहमति, सहकार्य र एकताले, इतर पक्षलाई निकै ठूलो चुनावी धक्का लगाइदिएको छ।
संस्थागत विकासका लागि सहमति र सहकार्य गरेर अघि बढ्ने संझौता अनुसार एनआरएनए, एनसिसिको अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडेको समूहमा रहेर कोषाध्यक्ष पदमा उमेदवारी दिएका रबिन्द्र उप्रेतिले आफ्नो उम्मेदवारी फिर्ता लिएर सोही पदका लागि उमेदवारी दिएका अमित शर्मालाई समर्थन गरेका हुन्। शर्मा एनआरएनए, एनसिसिको अध्यक्ष पदका लागि उमेदवार बनेका सुमन थापाको साथमा कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएका थिए।
उप्रेतिले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले निशर्त शर्मालाई समर्थन गर्दै कोषाध्यक्ष पदबाट उमेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। संस्थामा भइरहेका बेथितिहरुका कारण उब्जिएका समस्याहरुको समाधान, नेतृत्व परिवर्तन गरेर मात्र सम्भव भएकाले त्यसका लागि आफूले उमेदवारी फिर्ता लिनु परेको जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ,’ यस संस्थामा भइरहेको बेथितिहरु नेतृत्व परिवर्तनसँगै मात्र समाधान हुने कुरामा विश्वास गर्दै अध्यक्षको प्रत्याशी डा. अर्जुन बन्जाडेसँग जोडिन आउनु भएका कोषाध्यक्षका उम्मेदवार अमित शर्मालाई समर्थन गर्दै मैले आफ्नो उम्मेदवारी निशर्त फिर्ता लिएको जानकारी गराउन चाहन्छु।’ स्टाटसमा उनले शर्माप्रति विश्वास गर्दै थप लेखेका छन्, ‘वहाँले संस्थालाई सर्वोपरि राखी कसैको बहकाउ र दबाबमा नआई संस्था र सम्पूर्ण सदस्यहरुको हितमा कार्य गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ।’ उप्रेतिले संस्थाका आम सदस्यहरु नै भगवान भएकाले उनिहरुकै लागि काम गरियोस् भन्ने अनुरोध गर्दै अरुका लागि गतिविधिहरु गरिए स्विकार्य नहुने चेतावनी समेत दिएका छन्।
यस सम्बन्धमा अमित शर्माले प्रतिक्रिया दिदै आफूलाई समर्थन गर्ने रबिन्द्र उप्रेति, सुमन थापा, डाक्टर अर्जुन बन्जाडे लगायत सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘ मलाई विश्वास गरेर साथ सहयोग गर्नु हुने र अवसर दिनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु। र, पद भन्दा पनि जिम्मेवारी लिइ काम गर्नेछु।’
कोषाध्यक्ष पदमा नै उमेदवारी दिनुको कारण प्रष्ट्यादै शर्माले लेखा तथा कोषको क्षेत्रमा आफूसंग लामो अनुभव रहेको, अनुभवी समूह पनि आफ्नो सम्पर्कमा रहेको र संस्थलाई आर्थिक रुपमा सबल बनाउने केही महत्वपूर्ण योजनाहरु पनि आफूसंग रहेकाले कोषाध्यक्ष पद नै रोजेको बताए। संस्थामा परिवर्तनसंग संगै रुपान्तरण पनि आवश्य भएको महसुस भएकाले नै डाक्टर अर्जुन बन्जाडे नेतृत्वको परिवर्तनका पक्षधर समूह र सुमन थापा नेतृत्वको रुपान्तरणका पक्षधर समूहका बिचमा एकता हुन पुगेको शर्माले खुलासा गरे। उनले भने, ‘अब हामी मिलेर अघि बढ्छौं। संस्थालाई समावेशी, पारदर्शी र विश्वसनीय बनाउछौं। हामी समुदायबाट लिने मात्र हैन, दिने काम पनि गर्ने छौं।’
यस चुनावी समिकरणले एनआरएनएमा ‘ पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएकाहरुलाई ठूलो राहत मिलेको छ भने इतरकाहरुलाई आहत पुगेको छ।