प्रचण्डको नेतृत्वमा एनआरएनए मासाच्युसेट्स च्याप्टर कार्यसमिति निर्विरोध चयन हुदै
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको अधिवेशन अन्तर्गत मासाच्युसेट्स् च्याप्टरको कार्यसमिति निर्विरोध निर्वाचित हुने भएको छ। निर्वाचन समितिको कार्यतालिका अनुसार मनोनयन दर्ताको समयसिमा भित्र विधानले व्यवस्था गरे अनुसार आवश्यक संख्याले मात्र उमेदवारी दर्ता गरेकाले, कार्यसमिति निर्विरोध निर्वाचित हुने भएको हो। मनोनयन दर्ता भए अनुसार नयाँ कार्यसमितिको अध्यक्षलगायत अन्य सबै पदहरुमा एकल उमेदवारी परेको छ। यस आधारमा प्रचण्ड श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने निश्चित भएको छ। यस सम्बन्धमा निर्वाचन समितिले निर्वाचन प्रक्रिया पुरा गरेर औपचारिक घोषणा गर्न भने बाँकी नै छ। उमेदवारी दर्ताको कार्य सम्पन्न भएसंगै निर्वाचन समितिले उमेदवारहरु उपर दाबी बिरोध र उमेदवारी फिर्ताको चरणको काम सुरु गरिसकेको छ। निर्वाचन तालिका अनुसार जुलाई ११ तारिख उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने, जुलाई २२ का दिन पूर्वीय समय अनुसार बिहान ८ बजे मतदान सुरु हुने र २३ तारिख बिहान ८ बजे सम्पन्न हुनेछ। र, निर्वाचनको अन्तिम नतिजा जुलाई २४ तारिख सार्वजनिक हुनेछ।
उमेदवारी मनोनयनका क्रममा आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२०२५) का लागि अध्यक्ष पदमा केवल प्रचण्ड श्रेष्ठको मात्र एकल उमेदवारी परेको छ। त्यसैगरी, संस्थाको विधानले व्यवस्था गरे अनुसार, उपाध्यक्षमा खुम गुरुङ(राजु), महिला उपाध्यक्षमा जमुना श्रेष्ठ, सचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा समुन्द्र कुमार श्रेष्ठ, महिला सचिवमा स्नेहा पन्थी, युवा संयोजक पदमा मुकुन्द पोखरेल र महिला संयोजक पदमा सुनिता केसी अधिकारीको मात्र एकल उमेदवारी परेको छ। त्यसैगरी, विधान अनुसार कार्यसमितिको ७ जना सदस्य पदका लगि ७ जनाकै मात्र उमेदवारी परेको छ। सदस्य पदका लागि उमेदवारी दिनेहरुमा दिपेन्द्र सुबेदी, नबराज जमकटेल, सुरेन्द्र भट्टराई, स्कन्द यादव, इमान थिङ, नित्या शर्मा र सुधा गुरुङ रहेका छन्।
यस सम्बन्धमा प्रतिक्रिया दिदै सन् २०२१-२३का मासाच्युसेट्स् च्याप्टर अध्यक्ष तथा आगामी कार्यकाल(२०२३-२५)का लागि राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका प्रत्याशी प्रेम तामाङले आफ्नो नेतृत्वमा रहेको च्याप्टरमा निर्विरोध कार्यसमित चयन हुन लागेकोमा निकै खुशी व्यक्त गरेका छन्। सबैको सहमति र एकताका कारण नै सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित हुने अवस्था आएकोप्रति गर्व गर्दै उनले भने, ‘मलाई गर्व लागिरहेको छ।
जो मेरो लक्ष्य थियो। र, हाम्रो टिमको अभियान पनि यही थियो। यो मासाच्युसेट्स च्याप्टरकै गर्वको विषय हो। हामीले एकताको राम्रो सन्देश दिन सफल भएका छौं।’ तामाङले कुराकानीका क्रममा च्याप्टरको जिम्मेवारी अरु सहयात्री साथीहरुलाई सुम्पदै आफू राष्ट्रिय समन्वय परिषदतिर लागेको बताए। उनले आशन्न निर्वाचनमा आफू राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका लागि प्रत्याशी रहेको बताउदै सबै मतदाताहरुलाई आफ्नो अमूल्य मतदान गरेर विजयी गराइ दिन अनुरोध समेत गरेका छन्। तामाङले दुइ कार्यकाल (सन् २०१९-२०२१ र सन् २०२१-२०२३)मासाच्युसेट्स् च्याप्टरको नेतृत्व सम्हालिसकेका छन्। उनकै अगुवाइमा मासाच्युसेट्स् च्याप्टरमा संस्थाको सदस्य बनाउने अभियानले तिब्रता पाएको थियो। गत अधिवेशनका बेला संस्थाको सदस्य संख्या २४० बाट ह्वात्तै बढेर १००४ पुगेको थियो भने, हाल ९६१ रहेको छ। यस वर्ष सदस्यहरुको संख्या १५ सय पुर्याउने लक्ष्य लिइएको भएतापनि, नयाँ लागू गरिएको एमआइएस प्रणाली, संस्थाको राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिहरुमा आएका विवादहरुलगायत अन्य विविध कारणले लक्ष्य पुरा गर्न नसकिएको अध्यक्ष तामाङको ठम्याइ छ। यद्यपि, अन्य च्याप्टरहरुसंग तुलना गर्दा सदस्यता बिस्तार अभियानमा उल्लेखनीय सफलता हात पार्न सकिएको उनको दावी छ।
सन् २०२१-२३ कार्यकालका सचिव तथा हाल संस्थाको च्याप्टर अध्यक्ष बनी बागडोर सम्लाने प्रक्रियाको चुनावी मैदानमा उत्रिएका प्रचण्ड श्रेष्ठले प्रतिक्रिया दिदै आफूलगायत सम्पूर्ण कार्यसमितिलाई निर्विरोध निर्वाचित गराउनका लागि अहम भूमिका खेल्ने सबै सदस्यहरुलाई धन्यवाद दिएका छन्। सदस्यहरुले अत्यन्त आशा, भरोसा र विश्वास गरेर संस्थाको ठूलो जिम्मेवारी प्रदान गर्न लागेकाले सोही बमोजिम भूमिका निभाउन लागिपर्ने बताउदै उनले भने, ‘सदस्य ज्यूहरुले अत्यन्त आशा, भरोसा र विश्वास गरेर हामीलाई निर्विरोध रुपमा संस्थाको जिम्मेवारी सुम्पिदै हुनुहुन्छ। नयाँ कार्यसमितिका लागि उमेदवारी दिने सबै जना निर्विरोध हुने अवस्था आउनु निकै खुशीको कुरा हो। यसलाई मनन गरेर सोही बमोजिम भूमिका निभाउन हामी सक्रिय हुनेछौं।’ निर्विरोध कार्यसमिति चयन हुने परिस्थिति बनेका कारण मासाच्युसेट्स् च्याप्टरले एकताको गतिलो सन्देश दिन सफल भएको श्रेष्ठको पनि बुझाइ छ। उनले निर्वाचन परिणामको मर्म, संस्थाको गरिमा र सदस्यहरुको भावनाको कदर गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्। श्रेष्ठले भने, ‘नयाँ कार्यसमिति निर्विरोध निर्वाचित हुने चरणमा छ। आगामी दिनहरुमा निर्वाचन परिणामको मर्म, संस्थाको गरिमा र सदस्यहरुको भावनाहरुको उच्च कदर गरेरै सबैलाई मिलाएर अघि बढ्ने छौं।’ श्रेष्ठले आशन्न अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न च्याप्टरले सक्दो सहयोगी भूमिका निर्वाह गर्ने समेत बताए। निर्वाचन समितिले जनाए अन्य च्याप्टरहरुमा पनि विभिन्न पदहरुमा निर्विरोध निर्वाचन हुनेहरुको संख्या उल्लेखनीय नै रहेको छ।
यस पटकको निर्वाचनमा मतदाताहरुको संख्यामा कमी आउनुका साथै निर्वाचनको मैदानमा उत्रिने उमेदवारहरुको संख्यामा पनि कमी आएको छ। गत अधिवेशनमा अमेरिकाको २९ राज्यमा कुल २० हजार १ सय ३८ मतदाताहरु रहेका थिए। तर, हाल कूल १२ हजार ८ सय ९५ जना रहेका छन्। राष्ट्रिय समन्वय परिषद, अमेरिकाको नेतृत्वको बागडोर सम्हाल्न डा. अर्जुन बन्जाडे, डिलुराम पराजुली र सुमन थापा चुनावी मैदानमा उत्रिएका छन्।