आज इस्लाम धर्मावलम्बीहरुले बकर इद मनाउँदै
काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरुले बकर इद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।
यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्गमा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।
गएको वर्ष बकर इद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०-१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।
अरब देशमा हिजो मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा आज मनाइदै छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ ।