टाइटानिक हेर्न गएको ‘पनडुब्बी’मा भयानक विष्फोट भएको संकेत
काठमाडौं । संसारकै सबैभन्दा चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन नामक पनडुब्बी दुर्घटनामा परेको पुष्टि भएको छ । यो पनडुब्बी गत सोमबारदेखि सम्पर्कविहीन भएको थियो ।
त्यसलगत्तै यसको अन्तराष्ट्रियस्तरमै खोजी अभियान चलिरहेको थियो । बिहीबार पनडुब्बीको अवशेष समुद्रको सतहतमा फैलिएको जानकारी प्राप्त भएको थियो । अहिले यो दूर्घटना कसरी भएको थियो भन्नेबारे जान्ने प्रयास भइरहेको छ ।
विनाशकारी विस्फोटका संकेत
अमेरिकी कोस्ट गार्डका तर्फबाट खोजी कार्यको नेतृत्व गरिरहेका अमेरिकी रियर एडमिरल जोन मागरका अनुसार विनाशकारी विस्फोटको संकेत देखिएको छ । अहिलेसम्म पन्डुब्बीका अवशेषको दुईवटा थुप्रो भेटिएको छ ।
एउटामा टाइटनको पछिल्लो भाग र अर्कोमा ल्यान्डिङ फ्रेम देखिएको छ । यसले पनडुब्बीमा ठुलो विष्फोट भएको संकेत दिन्छ । यो पनडुब्बीमा ब्लाक बक्स नभएकाले त्यसबेला के भएको थियो भन्ने अनुमान मात्रै गर्न सकिन्छ ।
पनडुब्बीको अवशेष बाहिर निकालेपछि एक-एक गरेर गहनताका साथ जाँच गरिने बताइएको छ । जाँचपछि यो थाहा हुनेछ की पनडुब्बीमा विष्फोट हुने प्रक्रिया कसरी सुरुवात भएको थियो । जाँचकर्ताले यसको निर्माणमा भएको त्रुटीबारे समेत पत्ता लगाउन प्रयास गर्ने बीबीसीले जनाएको छ ।
एडमिरल भन्छन्, “यसको स्पष्ट कारण पत्ता लगाउन निकै कठिन छ, किनकी यो दूर्घटना समुद्रको निकै गहिराइमा भएको थियो ।”
पनडुब्बीमा यसको सञ्चालक कम्पनी ओशनगेटका ६१ वर्षीय सीईओ स्टकटन रश, बेलायती-पाकिस्तानी व्यापारी ४८ वर्षीय शाहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ तथा ७७ वर्षका पूर्व फ्रान्सेली नौसेना गोताखोर र प्रख्यात अन्वेषक पल-हेनरी नार्गोलेट थिए । उनीहरु सबैको मृत्यु भएको छ ।
पन्डुब्बी पानीमा छिरेको ८ घण्टामा फर्किसक्नुपर्ने थियो । तर पौने २ घण्टामै सम्पर्क टुटेको थियो । भित्रबाट खोल्न नमिल्ने उक्त पनडुब्बीलाई समुद्रमाथिबाट जहाजले नियन्त्रण गर्ने गरेको थियो । पनडुब्बीमा त्यसबेला विष्फोट भएपछि सम्पर्क टुटेको अनुमान गरिएको छ ।