भ्रष्टाचार मुद्दामा चुडामणि सहितलाई हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा चुडामणि शर्मा सहितका पदाधिकारीलाई हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।
विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो ।
अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइराला सदस्य रहेको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।
निर्धारित सजायअनुसार आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।
राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने प्रावधान रहेको छ । सो अनुसार उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।