१० महिनामा अख्तियारमा २२ हजार उजुरी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेका छन् ।
यो तथ्याङ्क आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९-८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् ।
तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
कसुर स्थापित भएको प्रतिशत पनि २०७९-८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ ।
सबैभन्दा बढी आर्थिक वर्ष २०७५-७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारको भनार्ई छ ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८-७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९-८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।