एनआरएनए, अमेरिकाको चुनावी मैदानमा अर्जुन र डिलु आम्ने साम्ने

सुपेन्द्र बस्नेत
३० जेष्ठ २०८०, मंगलवार १६:१९

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावी मैदानमा डाक्टर अर्जुन बन्जाडे र डिलुराम पराजुली आम्ने साम्ने भएका छन्। संघको राष्ट्रिय परिषदको नेतृत्वको बागडोर समाल्ने प्रतिस्पर्धाको दौरानमा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै यि दुइ आम्ने साम्ने भएका हुन्। यस क्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी बनेका डा. अर्जुन बन्जाडेले आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन्। उनले जुन ११ तारिख आइतवार टेक्सास राज्यको अर्भिङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो उमेदवारी घोषणा गरेका हुन्। संघको संस्थागत विकासका लागि अझ बढी पारदर्शी, समावेशी, विश्वसनीय र अपनत्व महसुस हुने गरी रूपान्तरण गर्न आवश्यक भएको र त्यसका लागि आगामी निर्वाचन मार्फत कुशल नेतृत्व चयन गर्नु अपरिहार्य भएको जिकीर गर्दै डाक्टर बन्जाडेले त्यसका लागि आफू योग्य भएकाले नै नेतृत्व लिन तयार भएर उमेदवारी घोषणा गरेको प्रस्टिकरण दिएका छन्। ‘पारदर्शी, समावेशी र विश्वसनीय -‘परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ बन्जाडे चुनावी मैदानमा उत्रिएका छन्। उनले पारदर्शीता, समावेशीता, विश्वसनीयता र अपनत्वलाई आफ्नो चुनावी प्रमुख मुद्दा बनाएका छन्। यस पटकको अधिवेशनले एनआरएनए, अमेरिका संस्था विभाजनको कारक नभइ एकताको संवाहक हो भन्ने सन्देश विश्वव्यापी रुपमा पुर्याउनु पर्ने ऐतिहासिक जिम्मेवारी भएकाले सोका लागि एकता र सहमतिबाटै अधिवेशन सम्पन्न गर्नु पर्दछ भन्नेमा डा. बन्जाडेले जोड दिएका छन्। उनले उमेदवारी घोषणासभालाई सम्बोधन गर्दै भने, ‘ अब अमेरकाको एनआरएनएले एकताको सन्देशदिन जरुरी छ। फुटाउने हैन, जुटाउने अभियानमा जोडिन जरुरी छ।’ सकेसम्म सर्वसम्मत भएर अघि बढ्न सबैलाई अनुरोध गर्दै उनले त्यसका लागि आफू सदैव तयार रहेको बताएका छन्।

उनले उमेदवारी घोषणाका क्रममा आफ्ना भावी अल्पकालीन तथा दिर्घकालीन लक्ष्य तथा कार्ययोजनाहरुको संक्षिप्त खाकासमेत सार्वजनिक गरेका थिए।उनले सार्वजनिक गरेको भावी लक्ष्य तथा कार्ययोजनाहरुमा संस्थाको नाम तथा पहिचान, एनआरएनए कार्ड, स्वास्थ्य,शिक्षा, व्यापार, संस्थागत विकास, नेपाली नागरिकताको निरन्तरता, गैर आवासीय नागरिकता, संघको सदस्यताको आवश्यकता तथा त्यसको मूल्य, नेपालबाट आउने र अमेरिकामै रहेका नेपाली/प्रवासी नेपालीहरुका लागि हेल्प डेस्कको व्यवस्था लगायत विषयहरुलाई प्राथमिकताका साथ उठाएका छन्।

डा.बन्जाडेको प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास उप्रेतिले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। भने वर्तमान कार्यसमितका अर्का उपाध्यक्ष गोपेन्द्र भट्टराईले महासचिव पदमा उमेदवारी घोषणा गरेका छन्। त्यसैगरी, विधानले व्यवस्था गरे अनुसार ४ उपाध्यक्ष पदका लागि उमेदवारी घोषणा गर्नेहरुमा प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र रामचन्द्र पन्त रहेका छन्। डा.बन्जाडेकै प्यानलबाट महिला सचिव पदमा शान्ति पौडेल र युवा संयोजक पदमा तेज पौडेल(बिनोद)ले उमेदवारी दिने घोषणा गरेका छन्।

त्यसैगरी, वर्तमान कार्यसमितिका उपाध्यक्ष डिलुराम पराजुलीले पनि संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जुन १० तारिख शनिवारका दिन आफ्नै गृह राज्य केन्टकीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेका हुन्। यो संगै सहमति र सहकार्यबाटै अघि बढ्ने दुबै पक्षले बताए पनि, दुबै पक्ष जोडतोड चुनावी मैदनमा आम्ने साम्ने भएकाले सर्वसम्मत नेतृत्व चयन हुने अशा भने निकै कम रहेको देखिन्छ। पराजुलीले आफ्नो उमेदवारी घोषणाका क्रममा गैर आवासीय नेपाली नागरिकताको उपलब्धतालाई सहज बनाउन र वंशजको आधारमा नेपाली नागरिकता दिलाउन पहल गर्ने, अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको एकिन विवरण तयार पार्ने र उनीहरुलाई सक्दो सहयोग गर्ने, अमेरिकी सरकारसंग सहकार्य गर्ने, नेपाली र अमेरिकी स्थानीय निकायहरुका बिच समन्वय गराउन पहल गर्ने, नेपाल र नेपालीलाई सहयोग जुटाउने लगायत विषयहरु समेटिएका २१ बुँदे चुनावी घोषणापत्र समेत जारी गरेका थिए। गैर आवासीय नेपालीका साझा सरोकार र संस्थागत विकासलाई थप उचाइ दिन सक्षम, गतिशील र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता भएको जिकीर गर्दै उनले त्यसका लागि आफू पूर्ण रुपमा योग्य रहेको दावी गरेका छन्। सामाजिक कार्य गर्नका लागि पर्याप्त इच्छा शक्ति, समय, साधन, श्रोत र पारिवारिक सहयोग चाहिने र त्यस हिसाबले आफू नेतृत्व लिन योग्य भएकाले मतदाताले नेतृत्व सुम्पिने विश्वास व्यक्त गरे। संघले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा मेम्बरसीप ड्राइभको चियरका हैसियतले विभिन्न राज्यहरुमा पुगेर आफ्नो जिम्मेवारी पुरा गरेको र त्यही क्रममा मतदाताहरुको मनोभावना बुझेरै संस्थाको नेतृत्व लिन आफू अघिबढेको पराजुलीको भनाइ छ।
उमेदवारी घोषणासभामा आफूले अध्यक्ष पदमै उमेदवारी दिनु पर्नाको कारण प्रस्ट्याउने क्रममा पराजुलीले आफू पदको लोभी नभएतापनि, संस्थालाई परिवर्तन गर्न, पारदर्शी र परिणाममुखी बनाउन आधिकारिक पद नै चाहिने रहेछ भन्ने महसुस गरेकाले अध्यक्ष पदमा उमेदवारी दिनु परेको तर्क प्रस्तुत गरेका थिए। ‘गफ होइन काम, समर्पण र साथ सहयोगले मात्र समाजको सुख दु:खमा सच्चा सारथि बन्न सकिन्छ’ भन्ने चुनावी मुल नारा बनाएर चुनावी मैदानमा उत्रिएका पराजुलीले, उमेदवारी घोषणा कार्यक्रममा आफू एकलैले आफ्नो उमेदवारी घोषणा गरेका थिए। संस्थाको विधान अनुसार विभिन्न पदहरुमा आफ्नो उमेदवारी घोषणा गर्ने क्रम जारी छ।

संस्थाका अनुसार, सन् २०२१ को मे
२९ (शनिवार) र मे ३० (आइतवार) का दिन दुइ वर्षीय कार्यकाल(२०२१-२३)का लागि भएको निर्वाचनमा अमेरिकाको २९ राज्यमा रहेका कुल २० हजार १ सय ३८ सदस्यहरु मध्य कुल १५ हजार ७ सय ६८ ले मात्र मतदानमा भाग लिएका थिए। तर, यस पटक भने विविध कारणले संस्थाको सदस्य संख्या ७ हजार २ सय ४३ ले घटेको छ। हाल संस्थामा १२ हजार ८ सय ९५ जना सदस्यहरु रहेका छन्। यस मध्य के कतिले मतदानमा भाग लिने हुन् ? र कस कसले बाजी मार्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*