बोस्टर्नमा आयोजित धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न
बोस्टर्न । अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो।
कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित प्याब्फोन(PABFONE) को आफ्नै सामुदायिक भवनमा आयोजना गरिएको थियो। मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो। ४ दिने मुख्य कार्यक्रम अन्तर्गत सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा, सामूहिक ईही पूजा, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान, बौध्द गुरुहरुबाट धम्म ज्ञानको प्रवचनलगायत धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो। यही शुभसाइतमा लघुरुद्री(१२१ पाठ) लगाउने, होम गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्ने कार्य पनि सम्पन्न गरिएको थियो भने, हरेक दिन साँझ आरती गरिनुका साथै भक्तजनहरुले कलाकारहरुको साथमा भजन कीर्तन गरेका थिए।
कार्यक्रम तालिका अनुसार धार्मिक क्रियाकलापहरु सम्पन्न गरिसकेपछि सबैले भगवानको नाम लिदै एकै चोटी गडगडाहट ताली बजाएर सामूहिक रुपमा सामुदायिक भवनको उद्घाटन गर्दै एक आपसमा बधाई तथा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा श्रध्दालु भक्तजनहरुको र समुदायका सदस्यहरुको उल्लेखनीय सक्रिय सहभागिता रहेको थियो।
सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था सफलताको यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान,नेपालीपन र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुका लागि पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले अन्ततोगत्वा समुदायकै अथक साथ, सहयोग र सक्रियतामा सार्थकता पाएको छ। कार्यक्रम अपेक्षा गरे भन्दा पनि बढी प्रभावकारी, उत्साहजन, उत्प्रेरक, आनन्ददायी र फलदायी भएको आयोजकले जनाएको छ।
बृहत् कार्यक्रमका संयोजक प्रल्हाद केसीले कार्यक्रम सफलतापूर्वक संम्पन्न भएसंगै संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गर्दै उनले भने, ‘आज हामी निकै खुशी भएका छौं। जसले हामीलाई उत्साहित र उत्प्रेरित समेत गरेको छ।र, सबै भन्दा महत्वपूर्ण कुरा संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको छ।’
मुख्य गरी सबैलाई समेटेर प्राप्त उपलब्धिहरु जोगाउनु, अवसरहरुलाई सदुपयोग गर्नु र संस्थागत विकास गर्नु नै कार्यक्रम समापनले दिएको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै संयोजक केसीले थपिएको जि्मेवारी पूरा गर्न थप एकता, सक्रियता, इमानदारिता र लगनशिलताको खाँचो भएको जिकीर गरे।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अहम भूमिका रहेको स्मरण गर्दै उनले प्रतक्ष्य परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन्।
संस्थाको बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुशिल पौडेलले कार्यक्रम अत्यन्त सफल भएको दिप्पणी गरेका छन्। भक्तजनहरुमा निकै प्रसन्नता र उर्जा देखिएको जनाउदै अध्यक्ष पौडेलले भने,’ कार्यक्रम अत्यन्त सफल भएको मैले अनुभव गरेको छु। किन भने जतिपनि भक्तजनहरु आउनु भएको छ।उहाँहरु सबैमा प्रसन्नता र उर्जा देखिएको छ। सबैजना खुशी हुनुहुन्छ। कतिजना आउनुभयो भन्ने लेखाजोखा नै राख्न सकिएको छैन।’ अध्यक्ष पौडेलले संस्था स्थापना काल भन्दापनि अगाडिदेखि अहिसम्मको विभिन्न काल खण्डमा प्रत्यक्ष परोक्ष रुपमा योगदान पुराउने सबैलाई स्मरण गर्दै जति नै धन्यवाद दिए पनि अपुग हुने बताए।
अवससंस्थाले प्राप्त गरेको उपलब्धिहरुप्रति सबैले गर्व गर्नु पर्ने र अपनत्व ग्रहण गर्नु पर्ने बताउदै बोर्ड अफ ट्रष्टिका अध्यक्ष पौडेलले भने, ‘लामो समयदेखिको सबैको निरन्तर प्रयासले हाम्रो सपना साकार भयो। यसमा सबैले गर्व गरौं। र,अपनत्व ग्रहण गरौं।’
कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको संस्थाको बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष मिलन गुरुङको बुझाइ छ। उपाध्यक्ष गुरुङले बुद्ध फाउण्डेशनको स्थापनासंगै मन्दिर र सामुदायिक केन्द्र बनाउने सबैको चाहना पुरा भएको प्रतिक्रिया दिए।
सबैको साथ सहयोगले उक्त चाहना पूरा गर्न सम्भव भएको जीकीर गर्दै उनले यस अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कोरोना कालमा निकै समस्याहरु झेल्नु परेको स्मरण गर्दै उपाध्यक्ष गुरुङले कुनै पनि योजना बनाउदा कुनै परिस्थितिमा छोड्न नहुने पाठ सिकेको बताए। कोरोना कालको विषम परिस्थितिमा पनि योजनालाई नथाकि, नछाडि सम्पन्न गर्न निरन्तरन्त लागिपरेकाले, अन्ततोगत्वा सफलता हात परेको उनको ठम्याइ थियो।
संस्थाको बोर्ड अफ ट्रष्टिका अर्का उपाध्यक्ष बिरोचन नेपालले पनि संस्थाले देखेको महत्वाकांक्षी सपना, लामो समयदेखिको एकिकृत अथक प्रयासका कारण पुरा भएको र त्यसले उत्साहित गराउनुका साथै थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको कस्तो रह्यो भन्ने कुरा समाजले मुल्याङ्कन गर्ने कुरा भएको बताउदै उनले आयोजकको तर्फबाट सकेको राम्रो गरेको बताए।उनले भने, ‘अब समग्रमा मुल्याङ्कन त समाजले गर्ने हो। हामी आयोजकको टिमबाट हामीले सकेको राम्रो गर्यौ भन्ने हाम्लाई लाग्छ।’ सकेसम्म सबै विधिहरु पूरा गरेर भगवानहरुलाई प्राण दिने कार्य भएको बताउदै उपाध्यक्ष नेपालले दशकौंदेखिको अभियान सफल भएको बताए।
मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न गरिएसंगै अब श्रध्दालु भक्तजनहरुका लागि मन्दिर पूजा, पाठ, दर्शन आदि गर्न नियमित रुपमा खोलिने भएको छ। त्यसैगरी, कार्यक्रमहरु गर्न चाहनेहरुका लागि पनि कार्यक्रम हल सशुल्क लिएर उपलब्ध गराइने भएको छ।