चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका ३ पदाधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार सम्बन्धी मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना पदाधिकारीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालीन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।
उनीहरुको सजाय भने निर्धारण भएको छैन ।आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको हो ।
विशेष अदालतले सहसचिव शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ । शर्माविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोग पुष्टि नभएको अदालतको ठहर छ ।