पूर्व प्रधानमन्त्री खनाललाई अभद्र व्यवहार गर्ने सन्तोषसहित नौ जना पक्राउ

निरन्तर न्यूज
१७ जेष्ठ २०८०, बुधबार १६:३९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

आफूलाई सन्तोष राजावादी बताउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको हो । ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएको र मुद्दा चलाउने नचलाउने निर्णय भैनसकेको प्रहरीले जनाएको छ ।

भारतको नयाँ संसद्मा नेपालको भूमि समेत समेटेर नक्सा राखिएको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा राखेको कार्यक्रममा खनालमाथि अभद्र व्यवहार भएको थियो । कार्यक्रममा नेता खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायत उपस्थित थिए ।

कार्यक्रम चलिरहेका बेला सन्तोषसहितका व्यक्तिहरु युवाले पनि बोल्न पाउनुपर्छ भन्दै हुलहुलहुज्जत गर्दै स्टेजमा गएर उद्घोषसँग माईक लिएर सन्तोषले राजतन्त्रको पक्षमा भाषण गर्दै खनाल विरुद्ध अमर्यादित टिप्पणी गरेका थिए । त्यसपछि पनि उनका समर्थकहरुले तोडफोड गर्दै नेता खनालविरुद्ध नारावाजी समेत गरेका थिए ।

साध्यबहादुर भण्डारीले पटक पटक नामथर सोध्दा आप्नो नाम नै सन्तोष राजवादी भएको बताउँदै उनले पूर्वप्रधानमन्त्री खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहको ‘तलुवा पुछ्ने हैसियत नभएको मान्छे’ भनेर बोलेका थिए ।

पछि त्यहाँ उपस्थित नेताहरुका निजी सुरक्षा अधिकृतहरुले सन्तोषसहितका युवालाई बाहिर निकालेका थिए । नेकपा एकीकृत समाजवादीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । समाजवादीका नेता कार्यकर्ताले खनालमाथि भएको दुव्यर्वहारको चर्को विरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*