बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राईलाई पक्राउ
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले कृषि विज्ञ मदन राईलाई पक्राउ गरेको छ ।
७५ वर्षीय राईले खोटाङमा खोलेको शुभम फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।
राईलाई जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैले चलाएको फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
मदनले फाउन्डेसनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो।
राइले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।
राईले आफूले यौन शिक्षा यस्तो गरेको र यो आफूले जानी बुझी गरेकोले जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ।
मदनले स्कुलको सहमति लिएर नौ वर्षअघि फाउन्डेसन खोलेका थिए। मदनले फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए।