दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सिबिआईले लियो साढे ९ घन्टा बयान

निरन्तर न्यूज
२३ बैशाख २०८०, शनिबार १७:५०

राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला मामिलामा सिबिआईले आइतबार बयान लिएको छ। सिबिआईले उनलाई साढे ९ घन्टासम्म सोधपुछ गरेको हो।

सोधपुछपछि सञ्चारमाध्यमहरूसँग कुरा गर्दै केजरीवालले सिबिआईले आफूलाई पूरा सम्मानका साथ प्रश्नहरू सोधेका बताएका छन्।

केजरीवालका अनुसार सिबिआईले मदिरा नीतिका बारेमा ५६ वटा प्रश्न सोधेको थियो।

भारतीय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई जति प्रश्नहरू सोधिएको थियो, मैले सबैको जवाफ दिएँ। कथित मदिरा घोटालाको कुरा झुटो हो। आम आदमी पार्टी एक कट्टर इमानदार पार्टी हो। हामी मर्छौं तर भ्रष्टाचार गर्दैनौं। तीस वर्षमा बिजेपीले गुजरातमा एउटा राम्रो स्कुल बनाएको छैन। मानिसहरूले देखेका छन् कि ७५ वर्षमा देशमा जुन काम भएको छैन, त्यो काम दिल्लीमा केही दिनमै भएको छ। उनीहरू (विरोधी दल) आम आदमी पार्टीलाई खतम गर्न चाहन्छन्।’

उनले आफूलाई सिबिआईले फेरि बोलाउँछ कि बोलाउँदैन भन्नेबारे थाहा नभएको पनि बताएका छन्।

गत फागुनमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई प्रहरीले भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो।

सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको ‘एक्साइज’ नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआईले सिसोदियालाई पक्राउ गरेको हो।

दिल्लीका उपराज्यपाल एलजी विनय सक्सेनाले सन् २०२२ जुलाईमा दिल्लीमा रक्सी बेच्न लिनुपर्ने लाइसेन्सको शुल्क मिनाहा गरेको उक्त नीति बनाउन संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएका थिए। यो प्रकरणमा लामो समयसम्म अनुसन्धान चलेको थियो। सिसोदियामाथि प्रमाणहरू नष्ट गरेको आरोप पनि छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भागवन्त मानले त्यो बेला नै सिसोदियाका परिवारलाई भेटेका थिए। सामाजिक सञ्जालमा स्टाटस लेख्दै केजरीवालले सिसोदिया निर्दोष रहेको बताएका थिए। सिसोदियालाई पक्रिनु फोहोरी राजनीति भएको केजरीवालको भनाइ छ।

सिसोदिया अझै पनि जेलमै छन्। केही दिनमै उनको मुद्दामा सुनुवाइ हुने बताइएको छ। यही विषयमा सोधपुछ गर्न केजरीवाललाई सिबिआईले शनिबार नोटिस पठाएको थियो र आइतबार बयान लिएको हो।

केजरीवाललाई सिबिआईले नियन्त्रणमा लिएको भन्दै विरोधमा आइतबार आम आदमी पार्टीका कार्यकर्ताहरूले भारतका थुप्रै ठाउँहरूमा प्रदर्शन गरेका थिए। दिल्लीका केही ठाउँबाट प्रहरीले कार्यकर्ताहरूलाई पक्राउ पनि गरेको छ।

‘यो पूरा मुद्दा गलत छ, झुटो छ। आम आदमी पार्टीका मानिसहरू आवाज उठाइरहेका थिए। उनीहरूलाई प्रदर्शन गर्न पनि रोकियो। उनीहरूलाई पक्राउ गर्नु गलत हो,’ केजरीवालले भारत केन्द्रीय सरकारलाई इंगित गर्दै थप भनेका छन्, ‘विधानसभा सत्रलाई लिएर उनीहरूले यो नियमअनुरूप भएको बताएका छन्। म चाहन्छु कि एलजी साहेब, संविधान र नियम पढ्नुहोस्। कुनै राम्रो सल्लाहकार राख्नुहोस्।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*