जनयुद्धको तयारी गरिएको स्थानमा शहिद स्मृती पार्क निर्माण गरिने : आन्तरिक मन्त्री श्रेष्ठ
सिन्धुली । महासत्य धर्म कुण्ड प्राकृतिक गुम्बामा नवनिर्मित छ्याइतेन गुम्बाको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले उद्धघाटन गर्नुभएको छ । बुद्ध जयन्तिको अवसरमा सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर १ अमलेको भ्वाँसे स्थित महासत्य धर्म कुण्ड प्राकृतिक गुम्बामा नवनिर्मित छ्याइतेन गुम्बाको आज मन्त्रि श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
जनयुद्धको तयारी गरिएको उक्त स्थानमा शहिद स्मृती पार्क निर्माण गर्नको लागि बजेट बिनियोजन गरिदिने मन्त्रि श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ । उहाँले भन्नुभयो “यहि स्थानबाट जनयुद्धको तयारी गरिएको थियो । यहि स्थानका धेरै जना सहिद पनि भए । शान्तिको लागि क्रान्ति गरिएको स्थानमा सहिद पार्क निर्माणको लागि जग्गा उपलब्ध भए कम्तिमा ५० लाख बजेट बिनियोजन गर्ने प्रतिबद्धता गर्दछु ।”
महासत्य धर्म कुण्ड प्राकृतिक गुम्बालाई शान्तिको सन्देश दिने केन्द्रको रुपमा स्थापित गरेर पर्यटन प्रबद्र्धन गरिने मन्त्रि श्रेष्ठले बताउनु भयो । गुम्बाको बिषयमा संघिय सरकारका पर्यटन मन्त्रि सुदन किँराती र सचिव सँग पटक पटक छलफल भइरहेकाले बहुबर्षिय योजना पार्नको लागि प्रयत्न गरिने मन्त्रि श्रेष्ठको भनाई छ ।
शान्ति पार्क“गुम्बा” र क्रान्ति पार्क“शहिद स्मृती पार्क” दुबै लाई भ्वाँसे डाँडाँमा एकैठाउँमा निर्माण गरेर पर्यटन प्रबद्र्धन गरिने बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले पहिलेको युद्ध भूमिलाई शान्ति भुमि निर्माणको लागि प्रदेश सरकारको सहयोगमा गुरुयोजना निर्माण गरिने बताउनु भएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राउने उदेश्य सहित बिकास प्रबद्र्धन गरिने पालिकाको काममा सघाउन उहाँले अनुरोध गर्नुभएको छ ।
महासत्य धर्म कुण्ड प्राकृतिक गुम्बाका अध्यक्ष तिर्थ पाख्रिनको अध्यक्षतामा भएको थियो । स्थानियकै लागत र श्रमदानमा छ्याइतेन गुम्बाको निर्माण गरिएको अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।