टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् ।
बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हाे । रुपन्देही प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ । सन्दीपलाइ बिहीबार काठमाडौं ल्याइनेछ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी भएको थियो ।
यो प्रकरणमा प्रहरीले पूर्वमन्त्री टोपबहादुर रायमाझीका नाममा पनि पक्राउ पूर्जी जारी भएको छ । छोरा पक्राउ पर्नु अघि टोपबहादुरले दिउँसो अर्घाखाँचीमा पत्रकारहरुसँग आफू र आफ्नो छोराको यो प्रकरणमा कुनै संलग्नता नभएको दाबी गरेका थिए ।
यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।