तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने
हेटौंडा । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ ।
शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाडौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो । अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका बताउँदै समितिका सदस्य एवं प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले समितिले एक महिनाभित्र ऐन निर्माण गरेर प्रदेशसभामा पेश गरिने बताए ।
समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भाषाको विषय महत्वपुर्ण भएकोले कामलाइ तिब्रता दिएको बताइन् ।