नेपालले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

निरन्तर न्यूज
२५ माघ २०७९, बुधबार १८:१६

काठमाडौं । नेपाल सरकारले टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सहयोग गर्नुपर्ने बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘ट्रकी हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दु:खमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए। बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*