गोरखामा पृथ्वी जयन्ती भब्यरुपमा मनाइदै, प्रधानसेनापति शर्माले शालिक अनावरण गर्ने
गोरखा । नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा आज ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइँदैछ । पृथ्वीजयन्तीको अवसरमा गोरखा बजार पृथ्वीमय भएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट पनि विभिन्न कार्यक्रमहरु आयोजना हुदैछन् । त्यसका लागि गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन यसबर्ष नेपाल सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
गोरखा सदरकामुकाको ठूलो आँगनमा इतिहास झल्किने विभिन्न खालका तस्बिरहरुले सजाइएको छ । पुरानो बजार भनेर चिनिने ठूलोआँगन, पँदेली, छहरे, तीनधारे, पुरानो बसपार्क, विपिचोक क्षेत्रमा नेपाल एकीकरणका क्रममा भएका घटनाक्रम स्मरण गराउने तस्वीरहरुले सजाइएको छ । साथै नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह तथा उनका सेनाले प्रयोग गरेको हातहतियारका तस्बिरहरु पनि सजाइएको छ ।
राष्ट्रिय एकता दिवसको अवसरमा आज गोरखा ठूलोआँगनमा झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनिसहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको उद्घाटन हुँदैछ । साथै त्यहाँ गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रम पनि हुँदैछ । सालिक र राष्ट्रनिर्माता सलामीको उद्घाटन विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिबाट उद्घाटन भएपछि हरेक दिनको सूर्योदय र सूर्यास्त समयमा नेपाली सेनाको गुरुज्यूको पल्टनले ‘राष्ट्रनिर्माता सलामी’ दिने कार्यक्रम सञ्चालन हुनेछ ।
आजै पृथ्वीजयन्तीको अवसर पारेर बिगत २०५४ सालदेखि आयोजना हुँदै आएको ‘गोरखा महोत्सव’ पनि हुँदैछ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।