चार्ल्स शोभराजलाई फ्रान्स पठाईयो, १० वर्ष नेपाल आउन नपाउने
काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट निष्काशन अर्थात ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ का रुपमा चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।
हत्या अभियोगमा करिब २ दशक नेपालको कारागारमा कैद भुक्तान गरेका शोभराजलाई सरकारले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको हो । कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडान मार्फत उनलाई स्वदेश फिर्ता गरिएको छ । दोहामा शोभराजको ट्रान्जिट हुनेछ ।
शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या अभियोगमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।