चार्ल्स शोभराजलाई तत्काल थुनामुक्त गर्न सर्बोच्चको आदेश

निरन्तर न्यूज
७ पुष २०७९, बिहीबार ०८:१०

काठमाडौ । सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई तत्काल छाड्न आदेश दिएको छ । १९ वर्षदेखि कैद सजाय भोगिरहेका ७८ वर्षीय शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई आजै कैदमुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो मुलुक फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

आदेशमा भनिएको छ, ‘यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरीतको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखी राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल देखिएन । बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ । अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन वा सो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ ।’

आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*