आज खग्रास चन्द्रग्रहण, १ घण्टा २३ मिनेटसम्म नेपालबाट देखिने

निरन्तर न्यूज
२२ कार्तिक २०७९, मंगलवार ०९:१६

काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।

बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।

बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*