दशैँको टीका लगाउँदा पाईने आशिर्वादको अर्थ के हो ?

निरन्तर न्यूज
१९ आश्विन २०७९, बुधबार १२:५९

काठमाडौं । दशैंमा मान्यजनबाट आशिर्वचन सहित टीका ग्रहण गरिन्छ । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

विजयादशमीमा मान्यजनबाट टीका लगाउँदा विभिन्न आशीर्वचनहरू दिने गरिन्छ । त्यस्ता आशीर्वचनहरू धेरै भए पनि दशैंमा दिइने आशीर्वादमा चाहिँ विशेषगरी अधिकांश महाभारतकालीन पात्रको प्रसंग हुन्छ, खास गरी छोरा मान्छेलाई दिईने आशिर्वादमा ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ-

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोराको जस्तो सत्यता होस्, विदुरको जस्तो ज्ञान/विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥

नारीलाई देवीको रुप मानिने भएकाले यहाँ देवीको स्तुति गरिएको छ । यो मन्त्रको अर्थ हो- जित्नेवाली मंगल गर्नेवाली देवी भद्रकाली (दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी), कपालिनी, दुर्गा (दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी), पृथ्वी, स्वाहा (दक्षप्रजापतीकी छोरी), स्वधा (दक्षप्रजापतीकी छोरी/अग्निकी पत्नी) त्यस्ती देवीलाई नमस्कार छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्नेकाे चहल पहल हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*