आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिदै
काठमाडौँ । हिन्दू नेपालीहरुको ठूलो चाड वडादशैँ अन्तर्गत नवरात्रीको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।
घटस्थापनासँगै शुरु हुने नवरात्रमा नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । पाँचौं दिन पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।
आज राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा नित्य पूजा गरिदैछ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा पनि आज नित्य पूजा गरिदैछ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।
धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ ।
यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।