थापाको नेतृत्वमा जिबिएनसीको नयाँ कार्यसमिति चयन

सुपेन्द्र बस्नेत
११ आश्विन २०७९, मंगलवार ०७:४१

ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)को निर्वाचन सम्पन्न भएको छ। संस्थाको विधान अनुसार आगामी कार्यकालका लागि निर्वाचनमार्फत अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न सेप्टेम्बर २५ तारिख आइतवारका दिन निर्वाचन सम्पन्न भएको हो। संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाल र जलप्रसाद घिमिरे चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनु अगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो भने, थापा र फुयालबिच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको थियो। विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहनु भएको निर्वाचन समितिले सार्वजनिक गरेको अन्ति मत परिणाम अनुसार थापाले आफ्नो प्रतिस्पर्धी फुयाललाई ९५ मत अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल हुनु भएको हो। निर्वाचन मत परिणाम अनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुदा, फुयालले १६३ मत प्राप्त गर्नु भएको थियो। चुनावी मैदानमा उत्रिएका उमेदवारहरु र मतदाताहरु निकै उत्साहित देखिएको चुनावी माहोलले स्थापना कालदेखि नै सहमतिमा भन्दै नयाँ कार्यसमिति चयन गर्ने गरिएको अभ्यासको क्रमभङ्ग गरिदिएको छ। त्यसैगरी, संस्थाले पहिलो पटक महिला नेतृत्व प्राप्त गरेर इतिहास रच्न सफल भएको छ। यसैगरी, पहिलो पटक मतदान प्रक्रियामा गएको चुनावी माहोलले वरिष्ठ उपाध्यक्ष पदमा सन्दिप भट्टराईलाई निर्वाचित गरेको छ। निर्वाचन परिणाम अनुसार भट्टराईले कुल झरेको मतमा ३१८ मत ल्याइ, १०४ मत ल्याउने आफ्नो प्रतिस्पर्धी राज कुमार थापालाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्न सफल हुनु भयो।

निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन गरेको छ। उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उमेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुइ उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित हुन सफल हुनु भएको थियो। महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित हुनु भयो। यसैगरी, महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाहा र सह- कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित हुनु भएको छ। संस्थाको विधान अनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ। निर्वाचन समितिका अनुसार, निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उमेदवारी दर्ता गरेकाले उमेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् । सदस्य पदमा निर्वाचित हुनेहरुमा भिम प्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमिला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दिपक कटुवाल, अभिषेक आचार्य, अजय कुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, बिराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी रहनु भएको छ।

नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थामा हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी, जम्मा ७२६ जना सदस्यहरु आवद्ध रहेको संस्थाको निर्वाचनमा ४२३ जनाले भाग लिएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*