यस वर्षकाे बडादशैं शुरु, आज घटस्थापना
हेटाैँडा ।बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दु नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । घटस्थापनाको साईत विहान १०:२३ मा छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । यो दुर्गा देवीको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
कुल परम्परा अनुसार कसैले अरू अन्न पनि जौसितै रोप्ने गर्छ्न । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधीको रूपमा सेवन गर्ने गरिएको छ ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।