बालेनसहितका मेयरहरु पुगे भक्तपुर

निरन्तर न्यूज
२५ भाद्र २०७९, शनिबार २०:३१

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर पुगेका छन्।

काठमाडौं महानगरपालिका र काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलगायत ७५ जनाको समूहले शनिबार भक्तपुरको दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो। बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि पुगेकी थिइन्।

बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन्। उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएका उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उहाँहरुको स्वागतमा एक कार्यक्रम आयोजना ग¥यो ।
उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताए।

जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउदै उनले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम मानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राखे ।

विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए ।

उक्त भ्रमणमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो । भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भ्रमण टोलीका नगर प्रमुखहरुलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*