रहिनन् बेलायती महारानी एलिजाबेथ द्वितीया
एजेन्सी । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ।
बिहीवार दिउँसो उनको निधन भएको एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’
स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।
उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।
राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।’
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा पर्छिन् ।