नक्कली परिक्षार्थी बनेर जाँच दिने पक्राउ

निरन्तर न्यूज
१८ भाद्र २०७९, शनिबार २१:२१

काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टुकुसिंह तामाङ र राज कुमार श्रीमल रहेका छन् । सिन्धुलीको दुधौली नगरपालिका-१४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २१ बर्षीय तामाङ पक्राउ परेका हुन् ।

यसैगरी गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिने २२ बर्षीय श्रीमललाई पक्राउ गरेको हो । गत साउन १९ गतेदेखि हालसम्म ६ जना नक्कली परीक्षार्थीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरीले सम्बन्धित प्रहरी कार्यालयमा पठाएको छ ।

गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ बर्षीय सन्तोष थापाको नाममा ट्रायल दिँदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ बर्षीय सुजन भट्टराई र १४ गते सविन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै गत साउन २३ गते काठमाडौंको गुर्जुधाराबाट काठमाडौंको छैमले बस्ने ३० बर्षीय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ बर्षीय साजन आचार्य र भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिने पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

जसमध्ये सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षको लागी थुनामा पठाएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्न विशेष कडाई गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकालिँदा दक्ष चालकको कमी भई दुर्घटनासमेत बढ्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*