उपत्यकामा पर्यटनमन्त्री श्रेष्ठले ल्याए यस्तो योजना

निरन्तर न्यूज
१६ भाद्र २०७९, बिहीबार ०९:१०

काठमाण्डाैँ । काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले योजना बनाएका छन्।

काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरू गर्नेबारे मन्त्री श्रेष्ठले बुधबार सरोकारवालाहरूसँग छलफल गरेका हुन्।

रात्रिकालीन सम्पदायात्राले पर्यटकहरूको आगमन वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने बताउँदै उनले कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताए।

‘रात्रिकालीन सम्पदा-यात्राले उपत्यकाका मठमन्दिर, जात्रा-पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन्,’ उनले भने। यसअघि काठमाडौँका मेयर बालेन शाहले पनि रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने योजना बनाएका थिए। पर्यटनमन्त्री श्रेष्ठले राम्रो कामको सुरुवात गरेपछि बालेन पनि खुशी भएका छन्।

यसअघि मन्त्री श्रेष्ठले ल्याएकाे पर्यटन पुनरूत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ।

पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्ती तथा सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने तयारी छ।

ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक र मनमोहक हुने पर्यटन व्यवसायीहरूको भनाइ छ।

छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ-संस्थाका प्रतिनिधि सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*